प्रशासनकै मिलोमतोमा दिनदाहाडै सुपारी तस्करी


गोलबजार, फागुन ४,

राज्यले तेस्रो मुलुकबाट आयातित सुपारीलाई बिक्री वितरणमा प्रतिबन्ध लगाएको भएपनि प्रशासनकै मिलोमतोमा पूर्व-पश्चिम राजमार्ग भएरै दिनदाहाडै सुपारी भारत तस्करी हुने गरेको रहस्य खुलेको छ।

राजमार्गअन्तर्गत सिरहाको लहानस्थित हस्पिटल चोक नजिकै जिल्ला निकासीको लागि रोकेको ना३ख ५५२८ र ना३ख ७४५९ नम्बरको मालबाहक ट्रकलाई जिल्ला निकासी करको लागि रोक्दा सुपारी तस्करीको रहस्य खुलेको हो।

स्रोतका अनुसार सिरहाका सिडिओ धु्रवप्रसाद ढकालकै निर्देशनमा करमा बार्गेनिङ गर्न सुपारी बोकेको ट्रक रोकेका थिए रोकेको दुवै ट्रकमा ३५ टन सुपारी रहेको थियो। तीन घण्टापछि रकमको बार्गेनिङ मिलेपछि रोकिराखेको ट्रक रुपन्देही जिल्लाको सीमावर्ती गाविस शङ्कनगरका लागि हिँडेको बुझिएको छ।

सुपारी बोकेको ना३ख ५५२८ नम्बर ट्रकका चालक रुद्र खबासले सुपारी विराटनगरको रानी भन्सारमा लोड भएर कर तिरेको रसिद देखाउँदै प्रश्न गरे, 'यहाँ केको लागि रकम माग्छ थाहै छैन?"

यता सिरहाका प्रमुख जिल्ला अधिकारी ढकालले सुपारी राजमार्गमा रोक्न नमिल्ने बताए। उनले भने, "भारतका लागि जान्छ भने मात्रे पक्राउ गर्न मिल्नेछ। बुटवलका लागि हिँडेको सुपारी पक्रन मिल्दैन।"

सुपारी तेस्रो मुलुक इण्डोनेसिया, मलेसिया, दक्षिण कोरियालगायतका मुलुकबाट नेपाल हुँदै भारत तस्करी हुने गरेको छ। भारतमा तेस्रो मुलुकबाट निर्यात सुपारीलाई सरकारले प्रतिबन्ध लगाएकाले नेपालबाट तस्करी भएको सुपारी भारतीय विभिन्न गुट्खा कम्पनीले अवैधरुपमा किन्ने गरेका छन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com