सामाजिक पुराना परिवेश महिला हिंसाका कारण
माघ १,
प्रारम्भिक दिनहरूदेखि नै महिला पुरुषसँग हेपिने, डराउने तथा महिलाले समाजमा आफ्नो अस्तित्व बोध गराउन नसकेका कारण महिला हिंसा बढेको हो। जुन दिन हामी नारी कमजोर छैनौं, अत्याचार सहदैनौं भनेर अघि बढ्छौं त्यसपछि हिंसा आफैं नियन्त्रणमा आउँछ।
विनिता बराल नायिका
पुरुषहरूको विक्षिप्त र विकृत मानसिकताका कारण महिला हिंसा बढ्दै गएको हो। पुरुष प्रधान समाज तथा पुरुषत्वको अहमले हिंसा बढाउन थप भूमिका खेल्छ। पुरुषहरूमा आवेग, क्रोध र अंहकार हुन्छ भने महिलाहरू सहनशील एवं कोमल हुन्छन्। मुख्य कुरा महिला निरिह हुन भन्ने भावनाका कारण पनि हो।
कोमल वली, गायिका
हाम्रो सामाजिक परिवेशमा विद्यमान रुढिवादी अन्धविश्वासका कारण महिला हिंसा बढिरहेको छ। अहिले पनि पुरुषभन्दा महिला कमजोर छन् भन्ने मान्यता छ, जबकि दुवै आखिरमा मानिस नै हुन्। छोरी चेलीलाई सानो उमेरदेखि नै परम्परालाई पछ्याउने संस्कार दिइन्छ, जसले महिलालाईपुरुष हिंसाको सिकार बनाउन बाध्य बनाउँछ।
कला सुब्बा, आरजे, कोरियोग्राफर
कानुन बलियो नभएर हो। यदि कानुन प्रष्ट र सजाय कडा हुने हो भनें महिला हिंसा अवश्य कम हुन्थ्यो। महिला हिंसामा संलग्न हुनेहरू भनसुन र सोर्सफोर्समा सहजै उम्किने भएकाले पनि हिंसा बढ्दै गएको हो। अपराधीहरू उम्कन नपाउने कानुन तुरुन्तै बनाउनुपर्छ।
दीपाश्री निरौला, अभिनेत्री
हाम्रो समाज पुरुष प्रधान भएकाले पनि हुनसक्छ, महिलाहरू सधैं मर्कामा पर्ने गरेका छन्। शिक्षित व्यक्तिहरूबाट त महिलालाई होच्याइन्छ, अशिक्षितहरूको हकमा त झन...। यो आम पुरुष प्रवृत्ति हो। महिला पुरुष समान भनें पनि व्यवहारमा त्यो छैन्। दाइजोका कारण अहिले पनि महिलाहरूले पीडित बन्नुपरिरहेको छ।
चन्दा देवान, गायिका
(साप्ताहिक)