शरणार्थीको पहिचानपत्रको माग गर्नेमाथि कारबाही

भद्रपुर, माघ १८,

भुटानी शरणार्थीको पहिचानपत्रको माग गर्नेमाथि प्रशासनले आवश्यक कारबाही गर्ने भएको छ। सरकारले भुटानी शरणार्थीको रुपमा दर्ता नभएका व्यक्तिका लागि फाराम भराएर लामो अनुसन्धान र अन्तर्वार्तापछि शरणार्थी प्रमाणित भएका एक हजार आठ सय जनालाई परिचयपत्र वितरण गरेको थियो।

सो प्रक्रियामा आउन नसकेका एक सय ७४ जनाले पुनः प्रमाणीकरण हुनुपर्ने माग राखी पटक पटक आन्दोलन गर्दैआइरहेका छन्। शरणार्थीसम्बन्धी उच्चयोग (युएनएचसिआर)सँग लामो छलफल गरी सूचना जारी गरेर निर्धारण गरिएका प्रक्रियामा तीन घन्टासम्म अन्तर्वार्ताका साथै सबुत प्रमाणका आधारमा विशुद्ध भुटानी शरणार्थीलाई परिचयपत्र वितरण गरिएको प्रजिअ नरेन्द्रराज शर्माले जानकारी गराए।

जो कोही जतिखेर आएर आफूलाई शरणार्थी परिचयपत्रको माग गर्नु बलजफ्ती भएकाले पक्राउमा परेका ती व्यक्तिमाथि आवश्यक कारबाही गरिने प्रजिअले बताए। पहिचानपत्रको माग राखी बेलडाँगी शिविरमा अनशनमा बसेका ११ महिलासहित १८ जनालाई अनशनस्थलबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई इलाका प्ररहरी कार्यालयमा राखेर आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिएको छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com