सुरक्षाका लागि साथमा चक्कु

मुम्बई, माघ १२ ,

भारतीय राज्य महाराष्ट्रको एक राजनीतिक पार्टीले महिलालाई इज्जत बचाउन मुम्बईमा बिहीबार चक्कु बाँडेको छ। राजनीतिमा ‘बाहुबल' प्रयोग गर्ने भनेर चिनिएको पार्टी शिव सेनाले महिला समर्थकलाई आफ्नो इज्जत आफैंले बचाउनु पर्छ भन्दै चक्कु बाँडेको हो।

गत वर्षको अन्त्यमा निधन भएका पार्टीका संस्थापक नेता बाल ठाकरेको जन्मदिन परेको बिहीबार शिव सेनाले चक्कु बाँडेको हो। गएको डिसेम्बर १६ मा राजधानी नयाँ दिल्लीमा राति नौ बजे गुडिरहेको बसमा एक छात्राको सामूहिक बलात्कारपछि भारतमा महिला सुरक्षाबारे सबैको चासो बढेको छ।

शिव सेनाले सरकार महिलाको सुरक्षा गर्न बिफल भएकाले महिलाले आफ्नो इज्जतको रक्षा आफैंले गर्नुपर्ने बताएको छ। शिव सेना सदस्य अजय चौधरीले जसरी तरकारी काटिन्छ त्यसरी नै गलत नियत राखेर छुनेको हात काट्न महिलालाई बिहीबार सल्लाह दिए।

उनले तीन इन्चको चक्कु आफूसँग राख्न पार्टीका महिला समर्थकलाई सुझाव दिए। बाल ठाकरेले समेत महिलालाई पर्समा लिपस्टिक राख्नु साटो रामपुरी चक्कु राख्नुपर्छ भन्ने गरेको चौधरीले बताए। स्थानीय प्रहरीले भने शिव सेनाद्वारा वितरित चक्कुको जाँच गरिएको र ती चक्कु खतरनाक नभएको जनाएको छ। एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com