तनावलाई अंग्रेजीमा स्ट्रेस वा जोड दिनु पनि भनिन्छ । राम्रोसँग नियाल्ने हो भने यसको कारण र निवारण यसैमा लुकेको छ अर्थात् जुन कुरामा व्यक्तिले जोड दिन्छ वा जुन कुराको आवश्यकताभन्दा चिन्ता गरिन्छ, त्यही कुराले व्यक्तिलाई तनाव दिन्छ र कुनै कुरामा व्यक्तिले त्यतिबेला नै जोड दिन्छ जब व्यक्ति उक्त कुरालाई सहज भावबाट, सरलतापूर्वक स्वीकार गर्दैन र स्वयं त्यसमा अनुकूल हुन सक्दैन, तब व्यक्ति स्वयंमाथि चाहेर, नचाहेर, जानेर, नजानेर जोड दिन थाल्छ, दबाब दिन थाल्छ ।
यही दबाबले व्यक्तिलाई सुख शान्तिबाट टाढा राख्छ र तनाव सिर्जना हुन्छ चाहे त्यो तनाव कार्यको होस् वा वातावरणको । यो आपसी सम्बन्धबाट पनि हुनसक्छ, पढाइ वा रोजगारीको पनि हुन सक्छ । तनावका लागि बढी अपेक्षा पनि जिम्मेवार हुनसक्छ । यदि व्यक्तिको मनको आशा, क्षमताविपरीत अवस्था-वातावरण भए व्यक्ति तनावग्रस्त हुन पुग्छ । प्रायः स-साना कुराको तनाव बढी हुन्छ । किनभने कैयन् अवस्थामा ठूल्ठूला कुरालाई स्वीकार गर्न सकिन्छ, तर स -साना कुरालाई स्वीकार गर्न असहज हुन्छ । परन्तु यसैको नाम जीवन हो ।
हामीलाई सबै कुरा हाम्रो इच्छा-चाहना एवं आवश्यकताअनुसार प्राप्त हुँदैन । चाहेर पनि हामीले आफूलाई हरेक अवस्था एवं परिस्थतिमा सुखी एवं सन्तुलिन राख्न सक्दैनौं । हाम्रो शरीर, शरीरमा विद्यमान ऊर्जा एवं जीवनको समय सीमित हुन्छ, जसको कार्य गर्ने शक्ति एवं सिमाना पनि सीमित हुन्छ । परन्तु हाम्रा इच्छा, आवश्यकता, सपना, अपेक्षा-आकांक्षा आदि भने असीमित हुन्छन् ।
तनावलाई बुझ्नुपर्छ
तनावमुक्त हुन तनावलाई बुझ्न आवश्यक छ, किनभने तनावबाट मुक्त हुन तब मात्र सम्भव छ जब त्यसको कारण थाहा हुन्छ । हरेकका लागि यसको परिभाषा फरक-फरक हुन्छ र तनावको कारण पनि अलग-अलग नै हुन्छ ।
त्यसैले तनावलाई बुझ्नु आवश्यक छ । यसैमा तनावको समाधान लुकेको हुन्छ । तनावको कारण बुझ्न सके यसबाट मुक्त हुने उपाय वा मार्ग खोज्ने कायृ सहज हुन्छ साथै यो पनि थाहा पाइन्छ कि तनाव वास्तवमै कारण हो वा यो अकारण नै चिन्ताको विषय बन्न पुगेको छ । जसरी तनावलाई बुझ्न थालिन्छ त्यो आफैं कम भएको अनुभव हुन थाल्छ । तनावको पहिचानसँगै यसको प्रबन्ध पनि हुन्छ । त्यसैले आवश्यक छ, तनावको वास्तविकता पहिचान गर्नु र त्यसको सूक्ष्म दर्शन एवं विश्लेषण गर्नु ।
तनावको वास्तविकता पहिचान
जब व्यक्ति तनावमा हुन्छ तब उसबाट अन्य काम पनि सहज रूपमा हुन सक्दैन । जसको प्रभाव अन्य कार्यमा पनि पर्छ ।
यसले व्यक्तिको तनाव अझ बढ्छ । तनाव नबढोस् भनेर यसको जरा समाप्त होस् भनेर वास्तविक तनावको पहिचान आवश्यक छ । किनभने तनाव प्रायः एकाध कुरामै हुन्छ, तर त्यसको प्रभाव व्यक्तिको अन्य कार्य एवं पूरा दिनचर्यामा पर्छ, जसबाट व्यक्ति तनावग्रस्त हुन पुग्छ । यस्तो नहोस् भन्ने हेतुले एक सादा, खाली कागजमा आफ्ना सम्पूर्ण दुःख, कष्ट, चिन्ता, कार्य, कठिनाइ आदि लेख्नु राम्रो हुन्छ । सानो होस् वा ठूलो कुरा, बिना कुनै संकोच, त्यस्ता सबै कुरा जसले समस्या दिएको छ, सताएको छ, त्यसलाई लेख्नुपर्छ । जस्तै अफिसको तनाव, छोराछोरीको पढाइको तनाव, आपसी सम्बन्धको तनाव, बढ्दो आवेग एवं चिडचिडापन, आर्थिक संकट एवं एक्लोपन आदि त्यसमा लेख्न सकिन्छ ।
सबै कुरा लेखिसकेपछि हरेक विषयमा राम्रोसँग ध्यान दिनुपर्छ र सोच्नुपर्छ कि यी सबै समस्यामध्ये कुनचाहिँ समस्यामाथि ध्यान दिनु बढी आवश्यक छ । जसमाथि विचार गरिएन भने सम्भवतः जीवन धेरै हदसम्म प्रभावित हुन सक्छ, जसलाई समाधान गरे वा त्यो कार्य सम्पन्न गरे आफूलाई लाग्छ, यसको पूर्णताले लाभ, प्रगति, सुख आदि प्राप्त हुन्छ । गहन सोचविचार गरेपछि के पत्ता लाग्छ भने धेरै कुरा त्यस्ता छन् जुन अर्थहीन तथा आधारहीन छन्, जसमा तनावग्रस्त हुनु आवश्यक छैन । तिनलाई कुनै कारण नै नभई वा निरर्थक नै सँगालिएको छ ।
यो कुरा बुझेपछि पुनः नयाँ लिस्ट तयार गर्नुपर्छ र प्राथमिकताअनुसार तनावका कुरालाई क्रमबद्ध गर्नुपर्छ । त्यसपछि नयाँ छानिएका क्रमबद्ध तनावमा विचार गर्नुपर्छ ।
तनावको विश्लेषण
छनौट गरिएका प्राथमिक तनावको गहन चिन्तन गर्नुपर्छ, विश्लेषण गर्नुपर्छ र सोच्नुपर्छ- फलानो विषयमा आफू यति धेरै किन चिन्तित एवं तनावग्रस्त छु? के म व्यावहारिक रूपमा सम्बन्धित कार्य वा समस्यालाई सुल्झाउने कुनै काम वा प्रयास गरिरहेको छु? अथवा त्यत्तिकै दुःखी भैरहेको छु । यदि मैले कुनै प्रयास गरिरहेको छु भने के त्यो प्रयास योजनाबद्ध छैन? म त्यो समस्याबाट बच्ने प्रयासमा छु वा त्यसबाट निस्कने प्रयासमा छु ।
यो सब सोचिसकेपछि के पनि सोच्नुपर्छ, त्यो कुन कारण वा स्थिति हो जसले मलाई बोझ महसुस भैरहेको छ । त्यसपछि ती कारणलाई पनि पहिल्याउने प्रयास गर्नुपर्छ, जसका कारण स्वयंलाई अनुकूल बनाउन सकिएको छैन र तनाव बढ्दैछ । जे-जस्तो कारण निस्कन्छ तिनलाई गम्भीरतापूर्वक निष्पक्ष रूपमा सोच्नुपर्छ- त्यसका लागि जिम्मेवार स्वयं हो वा अरू कोही? यदि तनावका कारण कुनै दोस्रो व्यक्ति हो भने आशावादी दृष्टिकोण राख्दै उक्त व्यक्तिलाई सम्झाउनुपर्छ, कुरा गर्नुपर्छ ।
तनावको विश्लेषण र स्वयंलाई निरीक्षणपश्चात् आफ्नो योजनामा कमी कमजोरी देखिए प्राथमिकताअनुसार एकएक गर्दै पूरा गर्नुपर्छ । हातमा लिइसकेपछि कुनै पनि समस्यालाई बीचमै छोड्नुहुँदैन, किनभने बीचमा छोडिएको कार्यले अर्को कार्यसम्पादनमा समस्या सिर्जना गर्छ र व्यक्तिमा नकारात्मक विचारको जन्म गराउँछ- 'मबाट अब हुँदैन वा म गर्न सक्दिनँ ।' फलस्वरूप व्यक्ति थप तनावग्रस्त बन्न पुग्छ ।साप्ताहिक;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै