कविता : म त सार्है बिग्रे : By, Bibek Dulal



अहिलेसम्म
आफूमात्र अघाउने प्रपन्चमा छु
आजसम्म
आफैलाइ मात्र सोच्ने बिचारमा छु
ममाथि
अहमको पदार्पण भएको छ
म गजक्क परेर
अरूले गरेको नमस्कार
अरूले निहुरिएर हेरेको दृश्य
यो बेला आनन्दले चपाउदैछु .

मर्नु पर्छ भन्ने मलाइ हेक्का छैन
(भए पनि क्रितीम जस्तो लाग्छ )
सारा इन्द्रीयहरू आफ्नै हितका निम्ती
उत्सुक भएको ममा अनुभूती छ
मलाई कसैप्रती
आग्रह ,अनुग्रहप्रती वास्ता छैन
म पहाड जस्तो चट नपटाई
आफ्नै राग र तापले उभिएको छु
मसित एउटा पत्थर दील छ
जून ढुंगालाई देवता मान्छ

मेरा छोरा छोरीहरू पढून्
या तिनका छोरा छोरीले नपढुन्
यसमा म दिमाख खियाउदीन
उसको छोराले घन ठोकोस्
अथवा मेरो छोराले सुनको तक्मा बोकोस्
यो त भाग्यको खेल हो
म भाग्यमा बिश्वास गर्छु
म बुद्दी लडाउछु
श्रम एउटा भ्रम हो भन्ने ठान्छु .

गिटी कुट्नेहरू
साना झुपडीमा बस्नेहरू
ठेलागाडा , रिक्सा हाक्नेहरू
नाग्ला पसलेहरू
सडक किनारमा पाल टागेर बस्नेहरू
बनि बुतोमा जीवन साट्नेहरू
नहुनेहरू ,असहायहरू
मेरो शब्दकोषमा पर्दैनन्
मेरो नजरमा सुकिला,मुकिलाहरू दगुर्छन्
रोज रेस्टुरा ,रिसोर्ट ,कुर्शी उद्घाटन चाहर्नेहरु
मसित हात मिलाउछन्
यो सब देखेर म मख्ख छु .

अब
एकैछिनमा आओस आधि बेहरी
र उडाएर लगोस् मेरो सदियौंदेखिको
अरूलाई खुचिंग गर्ने बानीलाइ
बरर दर्कोस् दर्केझरी मेरो जिउमाथि
र बाकि नराखेर बगाओस्
मेरो अभिमानलाइ
मेरो शरीरका काप कापमा लागोस्
टनटालापुर मध्यान्हको घाम
मेरा दुर्गुणहरू,मेरा देखाशेखिहरू
खरानी पारेर डढाओस्
किनकि - म त सार्है बिग्रे .

अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल :अबुधाबी ,यु ए इ .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com