मेरो प्रेम by Nirupa Prasun


अवसर प्रेम दिवसको थियो। 

दिवसले दिएको रातो गुलाफ मैले ब्यागमा राखेँ। धन्न ! फूल पसल पनि नजिकै रहेछ। हतार-हतार पहेँलो गुलाफ किनँे, सरसलाई दिन। सरसको बिहे हुनुअघि भेट्ने स्थानमा पहिले मै पुग्थँे। आज आधा घन्टादेखि ऊ मलाई पर्खिरहेको छ। हतार-हतार पुगेँ, कमलादी मोडको कोर्टयार्ड रेस्टुराँमा। 

"सरी ढिलो भयो। मान्छे र सवारी साधनहरूले अल्झाइदिए।" 

"केही छैन।"

"बधाई छ बिहेको ।" हात मिलाएँ मैले। उसको बिहेपछिको पहिलो भेट थियो हाम्रो। अनि, हतपत ब्यागबाट पहेँलो गुलाफ झिकेर टेबलमा राखिदिएँ।

"जरुरी थिएन यो।"

"प्रेम दिवस मनाएकी होइन। तपाईंको बिहेको बधाईका लागि मात्र।" मैले भनेँ। 

सरसले धन्यवाद पनि भनेन। चुपचाप मेनु हेर्न थाल्यो। 

म विगतका पानाहरू अनायासै पल्टाउन थालँे :

१२ कक्षाको परीक्षापछि मेरा दिनहरू सिनेमा हेरेर, इन्टरनेट चलाएर र साथीहरूसँग रमाइला कुरा गरेर बित्थे। कहिलेकाहीँ यसो कथा, उपन्यासका किताब पढ्थँे। यी सबै कुराले मेरो मनभित्र भने युरिया हालेको बिरुवाझैँ अनेकानेक रहर हलक्क भएका थिए। त्यसैताका बागबजारको आदर्श इन्स्िटच्युटमा भर्ना भएँ, अंग्रेजी भाषा खार्न। 

पहिले म उसको अनुहार मात्रै चिन्थेँ। पछि आदर्श इन्स्िटच्युटका एमडी, सरस खतिवडालाई नामले पनि चिन्न थालेँ।

पहिले स्थापित दैनिक पत्रिकाको नामी पत्रकार ऊ, विगत सात वर्षदेखि पत्रकारिता छोडेर इन्स्िटच्युट खोलेर बसेको रहेछ।

बिस्तारै-बिस्तारै उसलाई फोन गर्नु, उसका बारेमा खोजीनिती गर्नु मेरा जरुरी कामको लिस्टमा पर्न थाल्यो। उसको आँखालाई आफ्नो आँखामा टाँसिराख्नु, उसका आवाजलाई आफ्नो मनभित्र गुञ्जाइराख्नु र उसको पूर्णकदको तस्बिर ल्यापटप ब्याकग्राउन्डमा सेभ गर्नु, यी यावत् गतिविधि पर्याप्त थिए, म उसलाई प्रेम गर्छु भन्ने प्रमाणहरू।

"म त जोगीजस्तै हुँ, मलाई माया नगर्नू...।"

"झन् जोगीलाई त माया गर्नुपर्छ नि !" 

"के अर्थ ? कहीँ नपुग्ने मायाको ?"

"म तपाईंसँग बिहे गर्छु।" एउटी महिला, म उसका लागि कति निर्लज्ज भइसकेको थिएँ भने आफ्नो बिहेको कुरा आफँै गर्दै थिएँ। 

"बिहे ! मलाई यस्ता कुरामा विश्वास छैन। यी सब झूटा कुरा हुन् !"

"त्यसो त हाम्रो लाइफ आफैँमा झूट हो नि ! त्यसो भए... तपाईंको अरू कोही गर्लपे|mन्ड छे हो ?" 

मलाई यस्तो लाग्दैथ्यो, ऊ सीधा कुरा गरेर मेरो मन दुखाउन चाहिरहेको छैन। भन्यो, "छैन।"

"जबसम्म तपाईं बिहे गर्नुहुन्न, तबसम्म म पनि बिहे गर्दिनँ।" 

"फिल्मी कुरा नगर मसँग।"

"फिल्मी होइन, साँच्चै भनेकी।"

"जिन्दगीभर बूढीकन्या बस्ने भयौ त्यसो भए।"

"साँच्चै तपाईं कसैलाई पनि प्रेम गर्नुहुन्न ?"

"गर्छु।"

"कसलाई ?"

"आमालाई। म मेरी आमाबाहेक कसैलाई पनि माया गर्दिनँ।" 

"म पनि तपाईंकी आमालाई माया गर्छु।"

"इन्जोय योरसेल्फ छायाँजी ! बेटर मलाई माया नगर्नुहोला।" सरसको यो रूढ व्यवहारले मेरो मन ननिकोसँग दुखेको थियो। केही दिनसम्म त बोलिनँ पनि। तर, यस्ता कुरा बिर्सिहाल्छु। र, पहिलेभन्दा अलिकति बढी नै मन पराउन थाल्छु, झन् बढी माया गर्न थाल्छु। 

एकदिन सोधँे, "किन प्रेमप्रति यस्तो विरक्ति तपाईंको ? कहिल्यै, कसैलाई पनि चाहनुभएन ?" 

"अहँ !"

मैले ठाडै भनेँ, "प्लिज, मलाई एक्सेप्ट गर्नूस्।"

मेरो कुराले ऊ हाँस्यो र भन्यो, "प्रेम गरेर के हुन्छ ?"    

"हुनुपर्नेचाँहि के हो र ?"

यहीबेला उसले कुनै गेस्टहाउसको भिजिटिङ् कार्ड पर्सबाट निकालेर मेरो हातमा थमाइदिएको थियो। मैले पनि बडो जतनसाथ ब्यागमा राखेकी थिएँ। मेरो प्रेम फिल्मी थिएन। उसले भनेकै समयमा पुगेँ। त्यस दिन र्फकंदा म आफ्नो घर नगई आन्टीकहाँ गएँ। घरमा के भन्लान् भन्ने लाग्यो। मान्छेको संगत खोज्ने अभिलाषाले 'गेस्टहाउस'सम्म पुर्‍याइदियो। नराम्रो कत्ति पनि लागेको थिएन। आफैँदेखि अचम्म भने लागिरहेकै थियो। जीवनको मोहले त्यहाँसम्म पुगेकी हुँ म। प्रेम प्राप्तिका लागि। पछुताउ कत्ति पनि छैन। त्यसपछि नै त सरसले नभने पनि निश्चिन्त भएँ, उसले मलाई प्रेम गर्छ भन्ने कुराले। सबै कुरा मुखैले भन्नुपर्छ भन्ने पनि त थिएन। 

मेरी दिदी पढ्न-लेख्न सोखिन मान्छे। पहिले-पहिले उहाँको बिहे हुनुअगाडि उहाँलाई मन परेका लेख-रचना जतनसाथ सँगालेर राख्नुहुन्थ्यो। उहाँ पनि पत्रकार हुनुहुन्थ्यो। अहिले दिदी केही पनि गर्नुहुन्न। सात वर्षअघि अमेरिकी नागरकिसँग बिहे गरेर उतै जानुभएको थियो। पछि दिदीले ती अमेरिकी नागरिकसँग डिभोर्स गर्नुभयो। 

अचेल दिदी हामीसँगै अर्थात् माइतीमै बस्नुहुन्छ। उहाँको पाँच वर्षको छोरा पनि छ। दिदी मभन्दा उमेरमा निकै ठूली हुनुभए पनि म दिदीलाई साथीजस्तै ठान्छु र सबै कुरा सुनाउँछु। दिदी भने मलाई साथीजस्तो कहिल्यै गर्नुहुन्न, कहिले त रसि पनि उठ्छ। केही पनि सुनाउँदिन भन्छु। म सक्तिनँ। 

मैले सरसका बारेमा बताएँ। चिनेझैँ गर्नुभएन। पछि सरसलाई दिदीका बारेमा भनेँ, उसले त चिनेको मात्रै होइन, सँगै कलेज पढेका सहपाठी हौँ भन्यो। म मायाकी बहिनी भनेर सुन्नासाथ अचम्मको अनुहार लगाएको थियो। 

"अमेरिकीले हामी नेपालीलाई के चिनिराख्नु त !" 

"त्यस्तो होइन, दिदी ज्यादै भुलक्कड हुनुहुन्छ।"

दिदीको पक्ष त लिएँ तर दिदी त भुलक्कड मान्छे होइन, किन नचिनेझँै गर्नुभयो होला ? आफैँसँग प्रश्न गरेँ मैले। 

एकदिन दिदीको बुकर्‍याकको सबैभन्दा तल्लो खण्डमा सरसले लेखेका लेख र उसका छापिएका फोटो देखेँ। "दिदी त सरसको त्यत्रो ठूलो फ्यान हुनुहुँदो रै'छ, फेरि किन चिन्दिन भन्नुभएको ?" बुकर्‍याक नजिकै उभिएर सोधेँ मैले। 

"ए, त्यही सरस हो तेरो प्रेमी ? ओहो ! उसले अहिलेसम्म बिहे गरेको रहेनछ ? तँ हिजो भर्खरकी, ऊ त पाको मान्छे हो त !" 

निस्पिmक्रीसँग भनेँ, "होस् न त! त्यति धेरै फरक होइन। तपाईंकै उमेरको हो ऊ।"

"धेरै होइन, जम्मा १३ वर्ष नै त फरक हो। होइन के ? फेरि ऊ त बाजे हो, हाम्रो परिवारका कसैलाई मन पर्दैन बाहुनहरू।"

"जातमा के राख्या छ ? म मन पराउँछु। सकियो।" 

"तेरा लागि दिवसले मरहित्ते गर्छ। पाप लाग्छ, हेर ! त्यसलाई नरुवा।"

"दिवस सिवस जाओस् जतासुकै। मलाई मन पर्दैन त्यो केटो।" 

दिदी मेरो कुरा सुनेर मज्जाले हाँस्नुभयो। बसिरहेको ठाउँबाट उठ्दै भन्नुभयो, "घरमा बोलाऊँ कफी खान।"

"कसलाई ?"

"तिम्रो प्रेमी सरसलाई।" 

"किन ? मम्मी, बाबाले..." वाक्य पूरा बोल्न सकिनँ मैले। 

"मेरो साथी भनौँला।" निर्धक्कसँग भन्नुभयो दिदीले। 

घरमा बोलाउनु, दिदीको साथी भन्नु, यी सब किन जरुरी पर्‍यो, म स्वयं बुझ्दिनँ। 

"किन ?"

"लौ, हुनेवाला ज्वाइँसाहेबको इन्टरभ्यु लिनुपरेन ?" दिदी मात्रै भएको दिन मैले सरसलाई घर ल्याएँ।

त्यसपछिका दिनमा मम्मी-बाबा नभएको दिन कहिलेकाहीँ सरस हाम्रो घर आउँथ्यो। सिटिङ् रुममा दिदी र ऊ मात्रै हुन्थे। दिदी पटक्कै बोल्नुहुन्थेन, सरस केही बोल्थ्यो क्यारे! मलाई भने किचनमा चिया-खाजा पकाउँदैमा ठिक्क। दिदीलाई भेटेपछि नै उसले भनेको थियो, "मेरा छोरा र श्रीमती छन्।" 

म तीन छक मात्र होइन, चार छक नै परेकी थिएँ। बिहे नै नगरेको मान्छेको...?

एकाएक सरसले म बिहे गर्दै छु भन्यो। पत्याइनँ मैले।

मेरो प्रेम, उसको छोरा र श्रीमती, अब यो बिहे ? 

त्यहीबेला म कलेजबाट दिल्ली टुर गएँ। र्फकंदा सरसको बिहे भइसकेछ, मेरी दिदी अर्थात् माया कार्कीसँग। 

दिदीको पहिलो बिहे आफ्नै रोजाइको थियो। बाबा-मम्मीले निकै चित्त दुखाउनुभएको थियो त्यसबेला। यो बिहे त बाबा-मम्मीले नै मन्दिरमा लगेर गरिदिनुभएको रहेछ। मलाई पर्खनसमेत जरुरी नठानी। कति हतार भएको होला त! 

सरसको परिवार खुसी छैनन् रे! बिहेमा कोही पनि आएनन् रे!

"यहाँ एकदमै ढिलो गर्छन्। हेर न, कफीसम्म आइपुगेन अहिलेसम्म।" सरसको आवाजले झस्किएँ म। 

पूरै रेस्टुराँ बेलुन र फूलहरूले सजाइएको छ। रेस्टुराँ पूरै एउटा मण्डपजस्तो देख्छु म। दिदी हुनुपर्ने ठाउँमा म किन छु ? मैले बोलेको हर कुरालाई 'फिल्मी' ट्याग लगाइदिन्थ्यो सरस। ऊ आफैँले फिल्मभन्दा चर्को गर्‍यो। अब फेरि किन उसले १४ फेबु्रअरीकै दिन मलाई यहाँ बोलाएको हो कुन्नि ? म हतार-हतार आइपुगेकै छु। के भन्ने हो सुन्न बाँकी नै छ।  नेपाल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com