कविताः समुद्रपारको सम्झना I



समुद्र पारी छन् ती, मायालु मेरी,
फर्की हेर्छिन्, नेपाल आँखा उघारी !!
नयाँ विहानी सुनौलो, कतै छायो कि?
नेपालमै फर्की रमाउने दिन, आयो कि? !!!

नेपाल लाखौं कोश छ, आँखाले हैन,
मन र फेसबुक हो, अरु उपाय छैन !!
जस्तो भएपनि मातृभूमी आफ्नै हो,
आफ्नो माटो र बाटो पाइन्न कही त्यो !!!

हुँदो हो, उनलाई, स्वदेशको सम्झना,
गुन्द्रुकको अचार संगै, नेपाली खाना !!
गाँउमा घन्केको त्यो मादलको ताल,
तीजको दर र चमछमी नाचको ताल !!!

डाँडाकाँडा भञ्ज्यांग, अनि देउराली,
गाँउघर, लेकबेसी र उकाली ओराली !!
त्यस्तै दशै, तीहार, जात्रा र मेलाहरु,
साथीसंगका ठट्टा, रमाइला बेलाहरु !!!

बिदेशीने कसलाई हुन्छ र, त्यो रहर,
देशको अवस्थाले छैन, कुनै अवसर !!
पसिना जति बिदेश मै, पोखिएको छ,
सीप बिना, देश विकास रोकिएको छ !!!

मेशिन जस्तै खट्छिन् रे, अठार घण्टा,
सुत्ने, पढ्ने, सफाइ र मेल अरु टण्टा !!
छ घण्टा भित्र भ्याउनै पर्ने सवै कुरा,
जीवनका धेरै सपना रहेका अधुरा !!!

काम र व्यस्तता, अरु केही हुन्न रे,
माया र ममताको भावनाले छुन्न रे !!
विरामी हुँदा, छाम्ने कसले निधार,
तातोपानी र औषधि, गर्ने हेरविचार !!!

धन्य छौ मायालु, तिमी र त्यो संधर्ष,
परिश्रम र जाँगर त्यो, सबैमा हुनै पर्छ !!
तिम्रो चेतना र अनुभव, पाठ बनोस्,
कुनै बेला यो देशलाई काम आओस् !!!

समुद्र पारी छन् ती, मायालु मेरी,
फर्की हेर्छिन् नेपाल, आँखा उघारी !!
नयाँ विहानी सुनौलो कतै छायो कि?
नेपालमै फर्की रमाउने दिन आयो कि? !!!

जीवराज बुढाथोकी :
काठमाण्डौ, नेपाल :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com