अब एउटा रावण जन्माउ I


.
यो नेपाल खाल्डोमा धेरै तीज र तिहार आए गए ,
दाशी बनेर स्वामीको खुट्टा पखालेर पियौ ,
रामायणको कथा कण्ठै छ क्यारे तिमीलाई ,
मलाई पनि कण्ठै छ ,
तिमीले अक्षरमा पढ्यौ ,
मैले पात्र पढें ,
पवित्रताको परिक्षण गर्न सितालाई अग्नीमा होम गर्ने राम,
कसरी प्रिय भयो तिमीलाई ?
रावणले त कहिले पनि सिताको अश्मितामा खेलेन ,
तर सँधै तिमीले रावणलाई खराब पढ्यौ अक्षरमा ,
त्यसैले त यती धेरै रामहरू छन यहाँ ,
जो दिनभरी शहरका भट्टी टेकेर ,
बेलुकी तिमीलाई पाउ पखालेर पिउँन लाउँछन ,
बिष पिए जस्तो लाग्दैन?

आफु भट्टिमा सुरा र सुन्दरीमा लहसिदै गर्दा ,
तिम्रो चियो गर्न हनुमान खटाउँछन र ,
राती बिस्तारमा पुगे पछी सोध्छन ...
त्यो लक्ष्मण सँग किन हाँसेर बोलिस?
के गर्न आएको थियो?
कतिबेर बस्यो?
अनी संभोगमा तल्लीन भएर ,
बेहोसीमा अर्कै स्त्रीको नाम बर्वराउँछ ,
तिम्रो टाउको घुम्दैन?

अब अलिकती अराजक बन,
तिमीले खुट्टा पखालेर यि चेतना सून्य रामहरूको ,
मगज पखालिदैन ,
अब तिम्रो बढ्दै गरेको गर्भ माथी ,
एउटा अचुक प्रहार गर ,
त्यो रामायणको कथा फेरी पढ ,
तर अक्षर हैन पात्र पढ ,
यती धेरै चोटि पढ कि ,
त्यो पात्रको प्रभाव तिम्रो गर्भमा परोस र,
धर्तीमा अवतरीत हुँदा ,
रावण भएर आवोस .........

जो मर्यो बरू, सिताको अश्मितामा कहिल्यै धावा बोलेन !!
.
मीरा मन थापा
माइधार /झापा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com