खुलासा दरवारको I

ऐतिहासिक कथावस्तु र चरत्रि         लाई मुख्य आधार बनाएर आख्यानको रचना गर्ने नेपाली साहित्यकार धेरै छैनन्। यस्ता स्रष्टाको सानो सूचीमा सबैभन्दा पहिले आउने नाम हो, डायमनशमशेर राणा। राणालाई मिश्र बन्धु, सुन्दरप्रसाद शाह 'दुःखी', श्रीकृष्ण श्रेष्ठ, एसपी आशा आदिले पछ्याएको देखिन्छ।

 ऐतिहासिक भन्न मिल्ने उपन्यासहरूका यी स्रष्टाले आफ्नो आख्यानका विषयवस्तु, त्यसको कालखण्ड र परविेशमाथि गहन शोध गरेर तिनमा प्रामाणिकता पैदा गर्ने कष्टसाध्य प्रयत्न भने गरेको पाइँदैन। त्यसैले नेपालीमा लेखिएका अधिकांश ऐतिहासिक उपन्यासले इतिहासको एउटा भिन्नै प्रस्तुति गररिहेका पाइन्छन्।

 अझ पछिल्लो समयमा विसं २०५८ को दरबार हत्याकाण्ड र नारायणहिटी राजदरबारमा केन्दि्रत भएर लेखिएका सबैजसो आख्यानात्मक कृतिले त ऐतिहासिक तथ्यहरूकै घाँटी निमोठ्ने कोसिस गरेको देखिन्छ। त्यस जघन्य हत्याकाण्डको मनलाग्दो ढंगमा आख्यानीकरण गरेर पैसा बटुल्ने लालचका कारण नै त्यसलाई यति सस्तो बनाउन खोजिएको हो भन्ने कुरा बुझ्न खासै गाह्रो पर्दैन।

रोजीरोटीका लागि विगत १६ वर्षदेखि अमेरकिामा बस्दै आएका तर साहित्यसेवामा पनि त्यत्तिकै उत्साहका साथ समर्पित नगेन्द्र न्यौपानेले पनि ऐतिहासिक भन्न मिल्ने नेपाली उपन्यासका लेखकहरूको पंक्तिमा आफूलाई सामेल गराएका छन्, दरबारबाहिरकी महारानी नामक एक आख्यानात्मक कृतिका माध्यमबाट।

 मूलतः कवि र निबन्धकार न्यौपानेले यो उपन्यासको पहिलो खेस्रा विसं ०४४/४५ तिरै गरसिकेको तर उपन्यासको-विषयवस्तुको संवेदनशीलताका कारण त्यतिबेला छपाउन सम्भव नभएको र अहिले आएर मात्र पाठकसमक्ष प्रस्तुत गरेको जनाएका छन्, आफ्नो लेखकीय टिप्पणीमा। हुन पनि नारायणहिटी राजदरबारभित्रको एउटा अवैध सम्बन्ध र त्यसबाट जन्मिएको राजपुत्रको कथा कहने यो ग्रन्थ राजदरबार अंकुशरहित ढंगले शक्तिशाली रहेका बेलामा प्रकाशमा ल्याउन सम्भव थिएन।

दरबारबाहिरकी महारानीलाई धेरै नै निकट इतिहासका, उपन्यासका पाठकहरूमध्ये धेरैले चिने-जानेका पात्रहरूको कथामा आधारति भएकाले ऐतिहासिक आख्यानको दर्जा दिइहाल्न त्यति मनासिब देखिँदैन। उपन्यासकी केन्द्रीय पात्र अथवा दरबारबाहिरकी महारानी, दैहिक अभिसार हुँदा युवराज र पछि गद्दीसीन राजा भएका महेन्द्रकी भोग्या तर पत्नीको दर्जा कहिल्यै नपाएकी दुर्गा शाहको कथा र व्यथालाई नजिकबाट देख्ने/जान्नेहरू अहिले पनि जीवित नै छन्, संख्यामा थोरै भए पनि।

दुर्गाका छोरा रवीन्द्र शाह, जो मर्मस्पर्शी गीतका रचनाकारका रूपमा नेपाली संगीतको संसारमा सुप्रसिद्ध थिए, उनीसँग संगत गर्नेहरू त अनेकौँ छन्। समसामयिक नेपालका यी दुई जीवन्त पात्रको कथामा आधारति यस उपन्यासलाई यिनीहरूको जीवनकथाको आख्यानीकृत वृत्तान्त भन्न सकिन्छ।

नगेन्द्र न्यौपानेले बडो सरल र पाठकलाई एकाग्र बनाउन सक्ने भाषामा उपन्यासको रचना गरेका छन्। दुर्गाको भावी राजासँग विवाह नै नगरी भोग्या-पत्नीको प्रतिष्ठाहीन जीवन बिताउनुपरेको बाध्यताको जीवनकथा सुनाउने यस आख्यानको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको 'दरबार' नै हो। दरबारमा बस्ने, आ-आफ्ना पीडा र समस्या भएका मानिस, त्यहाँ भइरहने षड्यन्त्र, यौन प्रकरण र त्यस्ता अवाञ्छित यौन क्रियाकलापबाट जन्मने अपि्रय स्थिति र जघन्य अपराधसमेतलाई उपन्यासकार न्यौपानेले कतै मुखर र कतै संकेतका भरमा उल्लेख गरेका छन्।

उपन्यासमा त्यतिबेलाका राणाहरूको निगरानी र नियन्त्रणमा खुम्चिन बाध्य नारायणहिटी राजदरबारको चित्रण बडो यथार्थपरक ढंगमा भएको छ भन्न सकिन्छ। बाहिरबाट हेर्दा ठूलो सान-सौकत भएको ठस्सादार दरबारमा बस्ने मानिसहरू, त्यतिबेलाका राजासमेत, कति कमजोर र सशंकित अवस्थामा बाँच्न बाध्य थिए, त्यस तथ्यको खुलासा उपन्यासमा राम्रोसँग भएको छ।

ऐतिहासिक पात्रहरूको जीवन-कथाको आख्यानीकरण गर्नुपर्दा लेखकका सामु तथ्य र कल्पनाको विश्वासलाग्दो संयोजन गर्नुपर्ने चुनौती खडा हुने गर्छ नै। दरबारबाहिरकी महारानीका लेखकका अगाडि पनि त्यो चुनौती थियो नै। उपन्यास पढ्दै जाँदा कताकता त्यस्तो संयोजन विश्वासलाग्दो किसिमले हुन नसकेको जस्तो भने पाठकलाई धेरैपटक लाग्छ।

दुर्गाले महेन्द्रको गर्भधारण गरेको सुरुसुरुको समयको षड्यन्त्र र उनीमाथि भएका मनोवैज्ञानिक प्रहारको शृंखला रोकिएर बिहा नगरेको भए पनि पत्नीको दर्जा दिइसकेपछि पनि दरबारमा उनको हैसियत 'सुसारे'को भन्दा उक्लिएको नदेखिनु अमिल्दो नै लाग्छ। वास्तवमा महेन्द्रको गर्भ किटान भई छोराका रूपमा रवीन्द्रको जन्म भइसकेपछि दरबारले दुर्गा र रवीन्द्रका लागि छुट्टै व्यवस्था गरेको हुनुपर्छ। उपपत्नी नै किन नहोस्, दुर्गा महेन्द्रको छोराकी आमा जो थिइन्।

दुर्गा र रवीन्द्रको कथा सरल र रोचक ढंगमा भन्न जमर्को गर्ने यस कृतिमा त्यतिबेलाको नेपाल र नेपालीहरूको गहन समाजिक-मनोवैज्ञानिक चित्रण खोज्ने हो भनेचाहिँ पाठकले निराश हुनुपर्नेछ। मुख्य पात्रको मनोसंघर्षको पनि एउटै मात्र पक्ष उभारमा आएको छ उपन्यासमा। दुर्गा र रवीन्द्र आफ्नो प्रतिष्ठाजनक पहिचानको खोजीमा संघर्षरत छन् भने राजा महेन्द्र र नारायणहिटी राजदरबार उनीहरूबाट ठूलो झन्झटबिना छुटकारा पाउन खोजिरहेका देखिन्छन्।

दरबारका ठूला मानिस र उनकी निरीह नोकर्नीका बीच हुने यौन-सम्बन्धको जुन किसिमको अनुल्लेख्य प्रभाव दरबारयिा परविेशमा हुने गथ्र्याे, दुर्गाको मामिलामा पनि सम्भवतः त्यही नै भएको थियो। नगेन्द्र न्यौपानेले भने अलिकति कल्पनाशीलता र अलिकति भाषालाई खेलाउन सक्ने क्षमताका बलमा एउटा पठनीय -मन र मस्तिष्कमा गहिरो प्रभाव पार्ने खालको भने होइन) कृति तयार गरेका छन्।

समीक्ष्य कृति पढिसकेपछि एउटा कुरा निर्धक्क भन्न सकिन्छ, नगेन्द्र न्यौपाने मिहिनेती लेखक हुन्। उनी आख्यानको बुनोट गर्न जानेका छन् र उनको नेपाली भाषामा राम्रो दखल छ। उनको यस उपन्यासलाई उच्चकोटीको कलात्मक सिर्जनाका कोटीमा राख्न नसकिए तापनि डायमनशमशेरले सुरु गरेको लोकपि्रय र ऐतिहासिक तत्त्व भएको उपन्यास लेखनको परम्परालाई अघि बढाउन यो कृति सक्षम देखिन्छ भन्ने निचोडमा चाहिँ निर्धक्क पुग्न सकिन्छ।

- हरि अधिकारी

दरबारबाहिरकी महारानी

लेखक : नगेन्द्र न्यौपाने

सम्पादक : विमल भौकाजी

प्रकाशक : बीएन पुस्तक संसार

पृष्ठ : २३९

मूल्य : २७५ रुपियाँ

' नेपाल '

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com