अमृत भादगाउँले- तीजको मौसमले रंगीन छ वातावरण। रातो सारीमा सजिएर आफन्तको गुँड वा पार्टी प्यालेसतिर हिँडेका जताततै देखिन्छन्। पात्रोमा तीज आउनु महिना दिनअघिदेखि शहरमा दर भित्रेको छ। वेदना साट्नेभन्दा रमाइलो गर्ने पर्व बन्दैछ तीज।
पहिले यस्तो थिएन। छोरीचेलीको खबर सुन्न माइतीले महिनौं कुर्नुपर्थ्यो। जन्मथलो छाडेर पराईघर पुगेकाको सुख-दुःख सुन्न तीज पर्खनुपर्थ्यो। नन्द, देवर-दउरानी, जेठाजू-जेठानी, सासू-ससूरा र श्रीमानबाट सहनु परेका बुहार्तन र अपमानका कथा तीजे भाकामा छताछुल्ल पार्थे चेली। माइती नाउँको चौतारीमा बह फुकाएर मन हलुंगो पार्थे। वर्षमा एकै दिन सही मुक्त भएर नाचगान गर्थे। निर्धक्क भएर सामाजिक विकृतिबिरुद्ध बोल्थे।
कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ तीजलाई महिला मुक्ति दिवस मान्छन्। 'पहिला संकुचनमा थिए नेपाली महिला,' उनी भन्छन्, 'चुलोचौकोमा कैद थिए, वर्षमा एक दिन भए पनि उन्मुक्त भएर तीजमा आफ्ना पिरव्यथाको गीत गाउँथे, सामाजिक विकृति र विसंगतिबिरुद्ध छेडखानी गर्थे।' शहरको तीजे संस्कृतिमा मौलिकता हराउँदैछ। तीजे भाकामा भन्दा पनि अरू नै गीत घन्काएर कम्मर मर्काइमर्काई नाच्ने चलन छ। मोजमस्ती र रमाइलोतिर ढल्कँदैछ शहरी पुस्ता। गाउँघरतिर वेदना गाउने चलन हराइसकेको छैन।
केही वर्ष बेलायतमा अध्ययन गरेर फर्किएकी गायिका सोफिया थापा तीजलाई सिर्जनात्मक पर्वका रूपमा लिनुपर्ने बताउँछिन्। उनी सानो छँदा गृहनगर बुटवलतिरका महिला तीजमा आँसुगायक बन्थे। 'भोको पेटमा गाउँका महिला तुरुन्तातुरुन्तै गीत गाउँथे,' थापा सम्झन्छिन्, 'अचेल त्यो चलन घट्दैछ, मान्छे रेकर्डेड गीत घन्काएर नाच्छन्।'
सूचना र सञ्चारले गाउँ नजिकिएका छन्। धेरै ठाउँमा मोटरबाटो पुगेको छ। मात्रा तलमाथि होला, महिला हिंसा र बुहार्तन कायमै छ। घरेलु हिंसाको सिकार शहरी भेकमा बस्ने पनि उत्तिकै छन्। पार्टी प्यालेसहरूमा दिनदिनै हुने नाचगानमा वेदनाको पोको फुकाइँदैन। शहरी भेकमा नाचगान र दर खाने चलनले यसलाई सबै जातजाति वा धर्मावलम्बीको साझा पर्वका रूपमा विस्तार गर्दै लगेको छ। नेपाली मिठो खाने र राम्रो लाउने जुनसुकै पर्वको छिट्टै अनुकरण गर्छन् भन्ने उदाहरण हो तीज।
लायन्स क्लब अफ पोखरा आँगनकी संस्थापक अध्यक्ष भागिरथी बाटाजूलाई पनि तीज राष्ट्रिय पर्व लाग्छ। 'म व्रत बस्दिन, तर रातो सारी लाउँछु, मन्दिर जान्छु,' उनी भन्छिन्, 'क्षेत्री बाहुनको संगतले किशोरावस्थादेखि तीज मनाउन थालेकी हुँ।'
कुनै बेला थियो, हिन्दु समुदायका बाहुन क्षेत्री महिलाले मात्रै तीज मनाउँथे। उनीहरूमात्रै ब्रत बस्थे। आज तीजले जातीय र धर्मको पर्खाल तोडिसकेको छ, यो साझा पर्व बनिसकेको छ। धेरैजसोले मिठो खाने र राम्रो लाउने कामको सिको गरेका छन्। व्रत बस्ने भने कमै देखिन्छन्। थर्ड आइ इन्भेष्टमेन्ट, नयाँ बानेश्वरकी प्रबन्ध निर्देशक यशोदा राई व्रत बस्छिन्। 'व्रतले स्वास्थ्य पनि राम्रो हुन्छ र श्रीमानको दिर्घायूको कामना पनि,' उनी भन्छिन्, 'तर पानी नखाई ब्रत बस्नु हुँदैन, म त पानी खान्छु।'
उदयपुरको बलम्टा गाउँबाट कलेज पढ्न गाईघाट झरेदेखि उनले तीज मनाउन थालेकी हुन्। पोखरा फाइनान्स लिमिटेडकी प्रबन्धक बुद्धिलक्ष्मी गुरुङलाई पनि तीजले छोपिसकेको छ। भन्छिन्, 'हाम्रो गुरुङ समुदायमा तीजको अवसर पारेर चेलीबेटी भेटघाट हुने चलन पुरानै हो, हामी मिठो खाएर रमाइलो गर्छौं।'
मगर समुदायकी सञ्चारकर्मी चन्दा थापा पनि काठमाडौंमा दरको निम्तो मान्दैछिन्। उनी जन्मथलो भैरवस्थान पाल्पामा छँदैदेखि तीज मनाउँथिन। 'तीज हाम्रो संस्कृति हो, यसलाई बचाइराख्नु पर्छ,' उनी भन्छिन्, 'यो हाम्रो मन र राष्ट्रको सान हो।'
पार्टी प्यालेस र होटलमा रातो सारी लगाएर कम्मर मर्काउनेको हुल जातजातिको फूलबारीजस्तै लाग्छ। त्यहाँ धार्मिक विविधता पनि देखिन्छ। एउटा जातिको पर्व अर्को जातिले ग्रहण गर्ने राम्रो परम्परा बसेकामा संस्कृतिकर्मी श्रेष्ठ खुसी छन्
।
'उपयोगी चिज जसले पनि उपयोग गर्नु पर्छ भन्ने मान्यता विकास भएको छ,' उनी भन्छन्, 'तर तीजे कार्यक्रम भड्किला र प्रदर्शनमुखी हुँदैछन्।' पर्व मनाउने भड्किलो शैलीले तीजको मौलिकतामा प्रहार गरेको छ। आफन्तबीच आत्मीयता साट्ने र सद्भाव बाँड्ने तीजको मौलिकता हो। उत्ताउला गीतमा नाच्ने र गहना प्रदर्शन गर्ने होडबाजीले संस्कृति विकृत पार्दैछ। कोसेली किन्दा र दर खाँदा खुवाउँदा घाँटी हेरी हाड निल्नुपर्छ। केही संघसंस्थाले तीजे कार्यक्रमबाट पैसा बचाएर सामाजिक काम गर्न थालेका छन्। यो सुखद पक्ष हो।नागरिक
पार्वतीको विद्रोह!
तीज पर्व शिव भगवानलाई पाउन पार्वतीले गरेको कठोर व्रत र विद्रोहको कथासँग सम्बन्धित छ। कथाअनुसार राजा हिमालयले छोरी पार्वतीको बिहे बिष्णुसँग गरिदिने निधो गरे। पार्वती शिवलाई मन पराउँथिन्। उनलाई पिताको निर्णय चित्त बुझेन। उनी शिवलाई वर पाउँ भन्दै जंगलमा कठोर तपस्या गर्न थालिन्। पानीसमेत नखाई बसिन्। सामुन्ने शिवलिंग खडा गरिन्। आफ्नो प्रेमका लागि घर छाडेर जंगलमा कठोर तपस्या गर्नु पार्वतीको विद्रोह थियो।
हिमालयले हार खाए, उनले पार्वतीको बिहे शिवसँगै गराइदिए। बिहे भएको दिन भाद्र शुक्ल तृतीया थियो। त्यसकै सम्झनामा हिन्दु महिला सदियौंदेखि तीज मनाउँदै आएका छन्। विवाहितहरू पतिको दिर्घायूको कामना गर्छन् भने अविवाहित खोजेजस्तै वर मिलोस् भन्ने कामना। तीज चार दिन मनाइन्छ। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म। द्वितीयाको मध्यरात दर खाइन्छ। तृतीयामा व्रत बसिन्छ। रातो पहिरनमा ठाँटिएर मन्दिर जाने, दुःख सुखका गीत गाउने चलन छ। चतुर्थी गणेशको जन्मदिन भएकाले उनको पूजापाठ गरिन्छ। पाँचौ दिन दतिउनले नुहाइधुवाइ सप्तऋषिको पूजा गरिन्छ।नागरिक