कविता I



तिमी संग खाएको कसम
सायद तिमीले बिर्सिसक्यौ होला

तर , मेरो सम्झनाको सन्दुकमा भने अझै कैद छ
जति बेला तिमी मबाट ओझेल पर्दै थियौ

त्यति बेला मैले तिमीसँग म सधैं खुशी रहने कसम खाएकी थिएँ
त्यसैले आएर मलाई एक फेर हेर त !

मेरा यी नयनहरु कति सालिन छन्
मेरो मुहारमा कतै पनि नैरास्यताको वादल देखिदैन

अनि , मेरा यी गुलाबी ओठहरु हेर त !
सधैं मुस्कुराइरहेका छन्

मेरो प्रदेशी ! तिमीलाई थाहा छ ?
जस्तै दु:खको पहाडले थिचे पनि मैले हाँसेर सहेकी छु

पीडाका सबै निशानीहरुलाई
यो अनुहारमा अहँ पटक्कै झल्किन दिएकी छैन

तिमीसँग जुन कसम खाएकी थिएँ नि !
त्यो मैले पूरा गरेकी छु

तर , तिमीलाई मेरो एउटा बिन्ति छ
यदि तिमीसँग समय भयो भने

मेरो कविताहरु पढी दिनु
जब मेरा मनका तरङ्गहरुमा नजर डुलाउँछौ नि !

तब तिमीले महसुस गर्नेछौ
कहीँ तृष्णाका लाभाहरुलाई

कहीं मायाका गाभाहरुलाई
अनि , कहीं बेदनाका चट्टानहरुमा च्यापिएका

मेरा आशक्ति भावनाहरुलाई
ए साँची ! सुन त , फगत तिम्रो लागि म खुशी त छु

तर मेरो मनको मझेरी भने सधै रुझेकै छ
भित्र भित्रै खोक्रिएको छ

तै पनि मलाई एक फेर फर्किएर हेर त !
म सधै खुशी नै देखिएकी छु

मेरा ओठहरु मुस्कुराए कै छन्
किन की मैले तिमीसँग म सधै खुशी रहने कसम खाएकी थिएँ नि !

हो त्यही कसम आज सम्म पनि
मेरो सम्झनाको कन्तारोमा जमिरहेकै छ !

जमिरहेकै छ !! जमिरहेकै छ !!!


लक्ष्मी पोख्रेल :
इटहरी, हाल इज़रायल :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com