मिस वल्र्ड सृष्टि श्रेष्ठ (Video) I

कृष्ण भट्टराइ :- आगामी भदौ २ गते बिहानसम्म कुनै आश्चर्य भएन भने मिस नेपाल २०१२ सृष्टि श्रेष्ठले मिस वल्र्ड २०१२ अन्तर्गतको 'मल्टिमिडिया एवार्ड' जित्ने सम्भावना प्रवल भएर गएको छ। बुधबार साँझसम्मको भोटिङअनुसार सृष्टि मिस वल्र्डको यो विधामा पहिलो नम्बरमा छिन्।

सृष्टिले बुधबार साँझसम्म सर्वाधिक ३४ हजार ५ सय मत पाएकी छिन्। दोस्रो स्थानमा भियतनामकी सुन्दरी भू होवाङ माई २७ हजार ७ सय मत पाएकी छिन्। मिस वल्र्ड २०१२ को निर्णायक प्रतिस्पर्धा आगामी भदौ २ गते सम्पन्न हुँदैछ।

सृष्टिलाई भदौ २ गते बिहानसम्म मिस वल्र्डको आधिकारिक वेबसाइटमा रहेको फेसबुक फ्यान पेजमा गएर भोटिङ गर्न पाइन्छ। यो एवार्ड विजेता भए सृष्टि स्वतः उत्कृष्ट ५० भित्र पर्नेछिन् र निर्णायक चरणका लागि छनौट हुनेछिन्। सृष्टि मिस वल्र्ड २०१२ को 'कल्चरल डान्स राउन्ड' को उत्कृष्ट १० मा समेत पर्न सफल भैसके की छिन्।



'हेल्लो एभ्री वान ! सबैभन्दा पहिले ढिलो अपडेट हुन पाएकोमा गम्भीर रूपमा क्षमाप्रार्थी छु...वाउ ! मेरो मिस वल्र्डको सपनाको यात्रामा मलाई समर्थन र साथ दिनुभएकोमा तपाईंहरूलाई धेरै-धेरै धन्यवाद !' मिस वल्र्ड २०१२ को आधारित फेसबुक फ्यान पेजमा मिस वल्र्ड नेपालको पेजमार्फत आफूलाई लाइक गर्ने करिब ३५ हजार फेसबुक सदस्यहरूलाई सम्बोधन गर्दै गत मंगलबार सृष्टिले लेखिन्।

मिस नेपाल—२०१२ को उपाधि जितेपछि अन्तर्राष्ट्रिय रूपमै चर्चामा आएकी सृष्टि श्रेष्ठ विगत १० दिनदेखि चीनमा छिन्। मिस वल्र्ड २०१२ मा नेपालको प्रतिनिधित्व गर्दै उनी चीनको इनर मंगोलियाको ओरडोस पुगेकी हुन्। २३ वर्षीय सृष्टि पहिलो त्यस्ती मिस नेपाल हुन् जसको उचाइ ५ फिट १० इन्च छ, अर्थात् उनको उचाइ अन्तर्राष्ट्रिय मापदण्डभन्दा केही बढी नै छ। आगामी भदौ २ गते (अगस्ट १८) सम्पन्न हुने ६२ औं मिस वल्र्ड २०१२ मा नेपालको प्रतिनिधित्व गर्दै उनी गत साउन १ गते त्यसतर्फ प्रस्थान गरेकी हुन्।

यही वर्षको वैशाख २४ गते काठमाडौंमा सम्पन्न मिस नेपाल २०१२ मा विजयी हुनुअघिसम्म सृष्टि लन्डनमा रमाइरहेकी थिइन्। लन्डनमा बसेर मोडलिङलाई करियर बनाइरहेका बेला मिस नेपालको मुकुट पहिरिएपछि सृष्टिले अन्तर्राष्ट्रिय चर्चा पाइन्। चर्चासँगै यतिबेला उनी चीनको इनर मंगोलियाको ओरडस पुगेकी छिन्। उनको एक मात्र उद्देश्य छ, मिस वल्र्ड-२०१२ को मुकुट पहिरिँदै नेपाललाई विश्वसामु चिनाउनु। सृष्टि यतिबेला मिस वल्र्ड-२०१२ को प्रशिक्षणमा व्यस्त छिन्। विश्वका १ सय २० वटा देशका सुन्दरीहरूसहित उनी अहिले विभिन्न विधाको प्रशिक्षण लिइरहेकी छिन्। मिस वल्र्डको इतिहासमै पहिलो पटक १ सय २० जना सुन्दरीले प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि सन् २०१० को मिस वल्र्डमा सर्वाधिक १ सय १५ जना सुन्दरीले भाग लिएका थिए।

१ सय २० सुन्दरीको भीडमा मिस नेपाल सृष्टिले आफूलाई पृथक् देखाउने अभियान प्रारम्भ गरिसकेकी छिन्। यो अभियानको थालनी उनले मिस वल्र्ड-२०१२ को आधारिक फेसबुक पेजबाटै गरेकी छिन्। यो पेज सञ्चालन भएको छोटो समयमै ३० हजार जनाभन्दा बढी फेसबुक प्रयोगकर्ताले मिस नेपाल सृष्टिको पेजमा लाइक गरिसकेका छन्। यो क्रम दिनप्रति दिन बढ्दो छ। प्रशिक्षणका क्रममा अन्य प्रतिस्पर्धीसँगै सृष्टिले हङकङ, सान्या तथा सांघाईको समेत भ्रमण गर्नेछिन्।

फेसबुकको मिस नेपाल पेजमा सृष्टिको छोटो व्यक्तिगत विवरण समेत समावेश छ, जसमा उनले आफूलाई नेपाली, अंग्रेजी, उर्दू, हिन्दी तथा स्पेनिस भाषामा दखल भएको बताएकी छिन्। उक्त पेजमा सृष्टिले आफ्ना दैनिकीका साथै अन्य देशबाट मिस वल्र्ड २०१२ मा प्रतिस्पर्धा गरिरहेका सुन्दरीहरूसँगको सामूहिक तस्बिरहरू पनि पोष्ट गरिरहेकी छिन्।

गत मंगलबारको अपडेटमा सृष्टिले लेखेकी छिन्— 'मैले फेसबुक चलाउन नपाए पनि तपाईंहरूका प्रतिक्रियाहरू पाइरहेकी छु।' मंगलबारकै अर्को पोष्टमा सृष्टिले लेखेकी छिन्— 'यो पेज आयोजकले तयार पारिदिएका हुन्, त्यसैले मैले तपाईंहरूका प्रतिक्रियाहरू पढ्न पाइरहेकी छैन, तर चाँडै म तपाईंहरूले दर्साउनुभएको माया, प्रेम तथा सद्भावलाई नियाल्न पाउनेछु।'

सृष्टिले मिस वल्र्ड २०१२ को आधिकारिक वेबसाइटमा आफ्नो परिचय दिंदै लेखेकी छिन् — 'नमस्ते, म सृष्टि श्रेष्ठ सुन्दर हिमाली राष्ट्र ने पालबाट।' उनले आफ्नो परिचयमा आफू विगत दुई वर्षदेखि व्यवसायिक मोडलका रूपमा कार्यरत रहेको उल्लेख गरेकी छिन्।

यसबीच सृष्टिका लागि मिस वल्र्ड २०१२ को निर्णायक प्रतिस्पर्धामा लगाउने पहिरन अर्थात वार्डरोब कलेक्सन नेपाली फेसन डिजाइनर विश्व गौतमले तयार गरेका छन्। गौतम नमुना कलेज अफ फेसन टेक्नोलोजीबाट फेसन डिजाइनिङमा स्नातक गरी लामो समयदेखि आफ्नो सिजर् नालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएर उल्लेख्य सफलता हात पारिसेकका डिजाइनर हुन्। गौतमले तयार पारेका पहिरनले सृष्टिलाई मिस वल्र्ड २०१२ अझै सुन्दर देखिन साथ दिने पक्का छ। सृष्टिका लागि डिजाइनर गौतमले तयार पारेका पहिरनअन्तर्गत सिन्थेटिक लाइक्रा फ्याबि्रकको पछाडिको भागमा कालो नेट प्रयोग भएको ग्रे कलरको बोल्ड एन्ड स्मार्ट र्फमल वेयर तथा भिस्कोस् फ्याबि्रकमा तयार गरिएको सेतो रंगको क्लासिकल सेक्सी र्फमल वेयर छ।

मिस वल्र्ड-२०१२ मा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउन तथा उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्वलाई हालसम्मकै अविस्मरणीय बनाउने उद्देश्यले सृष्टिले आफ्नै निजी खर्चमा बेलायतस्थित द फ्रन्ट एकेडेमी नामक ब्युटी पेजेन्ट ग्रुमिङ स्कुलमा प्रशिक्षण लिएकी थिइन्। सृष्टिले बेलायतकै स्थापित ग्रुमिङ संस्था द फ्रन्ट एकेडेमीमा टाइल, क्याटवाक, मेकअप, हेयर, पर्सनालिटी, आत्मविश्वास बढाउने कलाजस्ता विषयमा प्रशिक्षण लिएकी हुन्। एक साता लामो उक्त विशेष प्रशिक्षणमा ६ जना प्रशिक्षकले उनलाई विभिन्न विधामा प्रशिक्षण दिएको बताइन्छ।



तपाईं पनि सृष्टिलाई आफ्नो भोट दिन सक्नु हुन्छ ।

भोट गर्नका लागि यो लिंकमा क्लिक गर्नुहोला ।

https://www.facebook.com/pages/Miss-World-Nepal/297574443671301

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com