आपत्ति बुद्धको अपमान प्रति I

काठमाडौँ, भदौ ११ ,

धर्मोदय सभाले विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्ध र उनीद्वारा प्रतिपादित धर्म अपनाउने सम्पूर्ण बौद्ध क्षेत्रलाई नै खल्बलाउने तरिकाले भइरहेका गतिविधिप्रति चिन्ता जनाएको छ।

हालै अमेरिकाको 'आइकोन सू डिजाइन' नामक एक जुत्ता कम्पनीले महिला तथा पुरुषले लगाइने विभिन्न स्यान्डल, बुट तथा अन्य प्रकारका जुत्ताहरुमा बुद्ध प्रतिमाहरु चित्राङ्कित गरेकामा सम्पूर्ण बौद्ध जगत्ले अत्यन्त अपमान महसुस गरिरहेको सभाको भनाइ छ।

सभाद्वारा आज जारी विज्ञप्तिमा यस विषयमा सम्पूर्ण बौद्ध जगत्लगायत धर्मोदय सभालाई अति आक्रोशित तुल्याइएको छ, यस्ता कुकृत्यपूर्ण दुस्साहस गर्नेहरुको हामी घोर भत्सर्ना गर्दछौँ भनिएको छ।

साथै बजारमा वितरण भएका बुद्धमूर्ति छापिएका जुत्ताहरु यथाशीघ्र नष्ट पार्न र वेबसाइटमा राखिएका तत्सम्बन्धी सम्पूर्ण विज्ञापन रद्द गराउन नेपालस्थित अमेरिकी राजदूतावासमार्फत दुःखपूर्वक माग गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसै सन्दर्भलाई लिएर विश्व बौद्ध भ्रातृत्व सङ्घ डब्ल्यूएफबी मार्फत विश्वभर सो कुराको भत्सर्ना गराउनसमेत आह्वान गरिएको छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com