पुस्तकको बिचमा बाबाको तस्विर I

काठमाडौं, भदौ १४,

उपेन्द्र लामिछाने :- २०६२ को जनआन्दोलनमा कंलकी चोकबाट बाबु बेपत्ता हुँदा उनी ४ वर्षकी थिइन्। आमाको औंला समाएर हुर्कंदै आएकी बाफलचोक बस्ने विष्णुकुमारी न्यास्रो मेट्न किताबको बीचमा बेपत्ता बाबु राजेन्द्र पुडासैनीको तस्बिर राखेर विद्यालय जान थालेकी छन्।

'सुरुमा बुझ्दैनथी, खोज्दैनथी,' आमा रीता पुडासैनीले भनिन्, 'अहिले जताबाट फर्केर आए पनि बुबाबारे सोध्न थालेकी छे।' बुबाको न्यास्रो लागेको भन्दै आफूसँग रहेको तस्बिर मागरे किताबको बीचमा राख्न थालेको उनले सुनाइन्। 'पढ्दै तस्बिर हेर्दै चित्त बुझाउन थालेकी छ,' उनले भनिन्।

राजधानीमा सामान्य रोगजारी गर्दै आएका राजेन्द्र पुडासैनी २०६२ सालमा कलंकीमा जनआन्दोलन क्रममा बेपत्ता भएयता परिवारले विभिन्न प्रकारको पीडा खेप्दै आएको उनले बताइन्। 'आन्दोलन क्रममा उनलाई घाइते अवस्थामा प्रहरीको भ्यानमा हालेर लगेका थियो भन्नेसम्म हामीले थाहा पायौं,' उनले भनिन्।

हेटौंडा घर भएका राजेन्द्रसँग रीताले प्रेमविवाह गरेका कारण परिवारले पनि उनलाई स्विकारेको छैन। जेेठी छोरी र कान्छो छोराको सहारामा डेरामा बसेको छु,' उनले भनिन्, 'उहाँ फर्केर आउनुहोला र घर लैजानुहोला भन्ने आशामा बाचेका छौं।' बेपत्ता हुँदा २ वर्षका थिए प्रवेश। पछिल्ला दिनमा उनले बुवाबारे सोधखोज गर्ने थालेका छन्। 'विद्यालयका कार्यक्रम, बर्थ डे, चाडपर्व आउनेबित्तिकै बुबालाई सम्झेर आँसु झार्छन्,' उनले भनिन्, 'मैले फर्केर आउनुहुन्छ भन्दा कहिले भनेर प्रश्न गर्छन्।

बेपत्ता हुनेलाई भन्दा पनि अहिले बाँच्नेहरू समस्यामा परेको उनले सुनाइन्। 'हामी उनको यादमा पलपल मरेका छौं,' उनले भनिन्, 'हामीलाई यो अन्योलको जिन्दगीबाट मुक्ति दिने काम कसैले गरेको छैन।
स्थानीय ग्रिनफिल्ड एकडेमीको ७ कक्षामा पढ्ने विष्णु उदास रहने गरेको साथी सृजना शर्माले बताइन्। 'विद्यालयका कार्यक्रममा अरूका बाबाहरूलाई देखेपछि ऊ एकान्तमा आएर बस्छे,' उनले भनिन्, 'अनि किताब पल्टाएर आफ्नो बाबाको तस्बिर हेर्छे।'

बेपत्ता सरोकार राष्ट्रिय संघका अध्यक्ष रामकुमार भण्डारीले बेपत्ताका परिवारको जीवन कष्टकर बन्दै गएको बताए। 'छोराछोरी फर्कने आशमा रहेका वृद्ध आमाहरू अनुहार हेर्न नपाई मृत्युवरण गर्दैछन्,' उनले भने, 'बाँचेकाहरू उदास छन्।' माओवादी द्वन्द्व सुरु भएदेखि शान्ति सम्झौता हुने बेलासम्म १ हजार ५ सय ५ व्यक्ति राज्य तथा माओवादीबाट बेपत्ता भएको शान्ति मन्त्रालय अन्तर्गतको राहत इकाइमा उल्लेख भएको उनले बताए।

बेपत्ताका विषयमा सरकारले ल्याउन लागेेका अध्यादेशप्रति असन्तुष्ट रहेका उनले सरोकारवालासँग सार्थक छलफल गरेर मात्र त्यस्तो आयोग गठन गर्नुपर्ने बताए।सरकाले बेपत्ता व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेशमार्फत सशस्त्र द्वन्द्व क्रममा बेपत्ता नागरिकलाई खोजबिन गर्न बेपत्ता छानबिन आयोग गठन गर्न र द्वन्द्वका कारण नागरिकबीच बढेको वैमनस्यलाई हटाई मेलमिलाप गराउन अक्षम्य गल्ती गरेकालाई कारबाही तथा पीडितको सहमतिमा द्वन्द्वकालमा पीडकलाई माफी दिने व्यवस्था ल्याएको छ।

आयोगका पदाधिकारी दलीय सहमतिमा नियुक्त गर्ने उल्लेख छ। मन्त्रिपरिषदको सोमबारको बैठकले सिफारिस गरेका सत्यनिरुपण आयोग गठनसम्बन्धी अध्यादेशसहितका तीन अध्यादेश मंगलबार प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिसमक्ष पेस गरेका थिए।

यसैबीच सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग अध्यादेश २०६९ लाई राष्ट्रपतिलाई सिफारिस गरेेकोमा सरकोकारवाला निकायले आपत्ति जनाएका छन्। आतंकपीडित टुहुरा समाज र राष्ट्रिय मानवअधिकार प्रतिष्ठान लगायत संस्थाले सरकारले एकतर्फी रूपमा प्रस्तुत गरेका ती अध्यादेशले पीडितलाई न्याय नदिने भन्दै आपत्ति जनाएका हुन्। नागरिक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com