समाज सुधारमा आमा समूह I

पोखरा, असार २३-

मनोज घर्तीमगर - लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह कास्कीले तीन सयभन्दा बढी लागु पदार्थ प्रयोगकर्तालाई पक्राउ गरेर प्रहरीलाई बुझाईसकेको छ। तीमध्ये २५/३० जना जेलमै छन्।

- सिद्ध-५ कास्कीको दर्शन आमा समूहले गाउँमा जुवातास खेल्न प्रतिबन्ध लगाएको छ। उसले विकास निर्माणका थुप्रै काम पनि गरेको छ।

- कास्कीको याङ्जाकोटमा गैरी गाउँ आमा समूहले गरेको विकास निर्माण देखेर सबै दंग पर्छन्।

- म्याग्दीको मिलीजुली आमा समूहले आफ्नो गाउँमा जाँडरक्सी पूर्ण बन्देज गरेको छ। रक्सी खाएर होहल्ला गर्नेलाई तीनहजारसम्म जरिवाना तिराउँछन्।

यी चारवटा आमा समूह प्रतिनिधी मात्रै हुन्। पश्चिमाञ्चलका हरेक गाविस र वडाका आमा समूह लागु पदार्थ, जुवातास, जाडरक्सी नियन्त्रणदेखी विकास निर्माण समर्पित छन्। विगत ८ वर्षदेखी कास्कीमा लागु औषध नियन्त्रणका लागि अग्रणी बन्दै आएको छ लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह।
‘आफ्नै भाइछोरा कुलतमा फसेको देख्न सकेनौं' समूह अध्यक्ष शान्तादेवी गुरुङ भन्छिन् ‘उनीहरुलाई सुधार्न अभियान चलाएका हौं।'

सुरुमा पोखराको बगर र फूलबारीका ३ जना आमा मिलेर २०५९ सालमा लागु पदार्थ प्रयोगकर्तालाई समातेर प्रहरीलाई बुझाउँथे। उनीहरुसँग हातेमालो गर्न थुप्रै आमा इच्छुक भए। त्यसैले २०६१ कार्त्तिक १९ गते जिल्ला प्रशासनमा समूह दर्ता भयो। लागू पदार्थ प्रयोगकर्ता नशामा डुबे झै यो समूह पनि लागु पदार्थ विरुद्धको अभियानमा चुर्लुम्म छ। अभियानले तीन सयभन्दा बढीलाई समातेर प्रहरीलाई बुझाएको सुनाउँछिन् समूहकी सचिव बिष्णु गुरुङ। भन्छिन् ‘कति नयाँ र सिकारुलाई आफैले पनि सुधार्यौं । 

कति जेल परेपछि सुध्रे्र कति जेलमै छन्।' समातिएका मध्ये धेरै जसो लागु पदार्थ प्रयोगकर्ता थिए भने २०/३० जना बिक्रेता। माओवादी युद्ध चलिरहेका बेला पोखरा नजिकैको सराङ्कोटसम्म प्रहरी उक्लन सक्दैनथ्यो। त्यस्तो बेला आमाहरु आफै पुगेर लागू औषध बिक्रेतालाई पत्रे्कर ल्याउँथे। यो अभियानमा लागेपछि जति सन्तोष मिलेको छ, त्यो भन्दा ठूलो जोखिम पनि छ।

‘तँ बुढीलाई बाहिर निस्केपछि घाँटी काट्छु भन्थे' समूहकी सदस्य दिलमाया गुरुङ भन्छिन् ‘राम्रो काम गर्दा मरिन्छ भने बरु मर्न तयार।' समूहले सुधारेका कतिपय युवा इलम गर्न थालेका छन् भने कति विदेश पुगेका छन्। विदेसिएका युवाका आमाहरु ‘हाम्रो छोरालाई सपारीदिइस्' भन्दै समूहमा आउँछन्। छोेराले पठाएको रकमबाट सहयोग गर्छन। समूहसँग यो बाहेक आम्दानीको अर्को स्रोत छैन।

लागू पर्दा प्रयोगकर्तालाई सुधार्ने नाममा डलर कुम्ल्याउने संस्थाका अगाडि यो आमा समूह नमूना बनेको छ। लागू पदार्थ प्रयोगकर्ता र बिक्रेतालाई समात्न सुराकी गरे बापत पुरस्कार दिने सरकारी व्यवस्था छ। तर अहिलेसम्म यो समूहले त्यस्तो पुरस्कार पाएको छैन। विहेमा नाचगान, मर्दा पर्दा सहयोग र देउसीभैलो खेलेर सहयोग जुटाउँदै आएका छन् उनीहरु। लागू औषधसहित पक्राउ परे पनि धरौटिमा छुट्ने व्यवस्था आमाहरुलाई मन परेको छैन।

‘कसुरसहित पक्राउ परे पनि अभियुक्तले पुरै सजाय पाउँदैन, धरौटीमा छुट्छ' समूहकी अध्यक्ष शान्ता सोध्छिन् ‘कसुर गरेकाले कानुनमा भए अनुसार पुरै सजायँ भोग्नुपर्छ, रंगेहात पक्राउ परेकाले वकिल राख्नै पाउनुहुन्न।' कास्की र स्याङ्जाका गाउँ गाउँबाट जनचेतना जगाइदिन उनीहरुले निम्तो पाउने गरेका छन्। यसरी आमाहरु कोही लागु औषध नियन्त्रणमा लागेका छन् भने कोही विकास निर्माणमा।

कास्कीको पर्यटकीय याङ्जाकोटको गैरी गाउँ आमा समूह पनि नमूना बनेको छ। बाटोघाटो बनाउन होस् वा पाटीपौवा उनीहरु अघि सरिहाल्छन्। गुरुङ हो, युवा विदेसिएका छन्। गाउँमा बचेका केही युवा पोखरा झरेपछि यहाँ भएका आमा गाउँको मुहार फेर्न कस्सिएका हुन्। समूहमा धेरै जसो विहे नगरेका सदस्य छन्। लाहुरे परिवारमा जन्मिएका उनीहरुलाई नपुग्ने केहि थिएन। नातागोता कोहि युके, कोही सिंगापुर, कोही हङकङ मात्रै हैन कोही भारतीय सेना पनि। तर, विवाह र मोजमस्तीमा उनीहरुको ध्यान गएन।

बुढेसकाल लागेपछि गाउँ छाडेर सहर झर्न आफन्तले ठूलो दबाव दिए पनि याङ्जाकोटकी अगुवा ६२ वर्षिया डिल कुमारी गुरुङलाई सुखको मोह रत्तिभर छैन। ‘गाउँकै विकास गर्छु भनेर विवाह नगरी बसेकी हुँ', उनले भनिन्। अहिले उनीहरुलाई न घरव्यवहारको चिन्ता छ, न बालबच्चा स्याहार गर्ने। गाउँ विकासमा रम्न पाएका छन्। डिलकुमारीकै अगुवाईमा घरजम नगरी बसेका याङ्जाकोटका ५० भन्दा बढि महिलाले बाटो बनाउने, खानेपानी ल्याउने, झैझगडा मिलाउने, जाँडरक्सी नियन्त्रण गर्ने काम गरेका छन्।

त्यति मात्रै हैन मन्दिर, पार्टीपौवा र पुस्तकालय निर्माणदेखि बृक्षरोपण गर्नेसम्मका काम गर्दै आएका छन्। ढुंगा छापेर उनीहरुले बनाएको बाटो देखेपछि याङ्जाकोट पुग्नेहरु दंग पर्छन्। ‘सबै विकास आमाहरुको योगदान हो' मिलन युवा क्लबका अध्यक्ष नारायण गुरुङ भन्छन् ‘उनीहरु रातदिन गाउँलाई नमुना बनाउन लागि परेका छन्।' महिलाले गैरीगाउँ, देउराली, छापाडाँडा र डाँडागाउँ आमा समूह गठन गरेका छन्। यी समूहका ९० जना छन्। उनीहरु गाउँमा लाहुरे आउँदा, मेला पर्व, गाउँमा हुने छेवर, अर्घौमा नाचगान गर्छन।

 देउसी भैलो खेलेर पैसा जम्मा गर्छन्। त्यहि पैसा विकासमा खर्चिन्छन्। कुनै बेला राम्रोसँग हिड्न नमिल्ने गाउँटोल आमाहरुकै अगुवाईमा आकर्षक बनेको छ। डेढ वर्षअघि टोउकामोराङ खरबारीबाट पाँच लाख रुपैयाँ लगानीमा गाउँमा पानी ल्याएका छन्। एक वर्ष अघि आमाहरुले गाउँमा कच्ची मोटरबाटो पुर्याँए। गाउँमा शिशु स्याहार केन्द्र बनाएका छन्। उनीहरुको संचालन गरेको मिलीजुली सहकारीमा १७ लाख रुपैंया जम्मा भैसकको छ। सहकारीको सहयोगले बाख्रापालन, भैसीपालन, तरकारी खेती, कुखुरा पालन गरेर विपन्न महिला गर्जो टार्दैछन्।

‘सहकारी भएपछि साहुलाई नमस्कार भन्दै ऋण माग्न परेन' कमला गुरुङ भन्छिन् ‘आफ्नै सहकारीबाट भनेको समयमा सस्तो व्याजमा पैसा झिक्यो, घरखर्च गर्योे।' गाउँमा पर्यटक भित्रयाउने अभियान पनि उनीहरुको योगदान छ। पाहुनाको स्व्ाागतसँगै गासबासका लागि अघि सर्छन। उता म्याग्दीको दोवा गाविसका आमा पनि नमूना बनेका छन्। उनीहरु जाँड रक्सी नियन्त्रणमा लागेका छन्। मगर गाउँ दोवामा जाँड रक्सी खाएर होहल्ला गर्नेको जमातले हैरान बनाउँथ्यो। अशान्ति थियो। 

यसबाट दिक्क भएका महिलाको बुद्धि फिर्योह। उनीहरु गाविसका सबै वडामा समूह गठन गरेर जाँड रक्सी बन्द अभियानमा लागे। जाँड रक्सीमा बन्देज लगाएको बर्ष दिनमै पूरै गाउँ परिवर्तन भएको छ। अचेल बाटोमा मातेर झगडा गर्नेहरु भेटिँदेनन्। परिवारमा शान्ति छाएको छ। ‘पहिले त यहाँ दिनकै झगडा हुन्थ्यो, जाड रक्सी खाएर हल्ला गर्नेहरु हुन्थे' मिलीजुली आमा समूहकी सदस्य देवकुमारी पुन भन्छिन्-'जाड रक्सी बन्द गराएपछि आनन्द भयो।'

जाडरक्सी बन्द गरेर गाविस परिवर्तन भएकामा आमाहरु दंग छन्। ‘हामीले यति धेरै सुधि्रन्छ भन्ने सोच्या थेनौ, धेरै सुधि्रएका छन्' दोवा-४ मा रहेको हातेमालो आमा समूहकी कोषाध्यक्ष धनकुमारी पूर्जा भन्छिन्-'युवाहरु काममा लागेका छन्।' कोषाध्यक्ष पूर्जाले रक्सी खाने र बेच्नेलाई तीन हजार जरिवाना गर्ने निर्णय गरेपछि कसैले यस्तो काम नगरेको सुनाइन्। ‘मगर सँस्कृतिमा रक्सी नभई हुन्न, त्यही भएर चाडपर्वमा छुट छ' दोवा ५ कि टौमाया पुनले भनिन् ‘रक्सी बन्द भएपछि श्रीमान-श्रीमतीबिच झगडा बन्द भएको छ।'
उनीहरुले २०६७ माघ १५ गते समूहलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेका छन्। समूहले गाउँ घरमा सफाई अभियान पनि ल्याएको छ। घर-घरमा सुधारिएको चुह्लो छ।

‘राम्रो कामलाई हामीले पूर्ण सहयोग गरेका छौं' स्थानिय मनिबराही युवा क्लबका अध्यक्ष कमल पुन भन्छन्-'आमाहरुले गर्दा युवा सुधि्रएका छन्, बाबा पार्टीले जाड रक्सी कन्ट्रोल गरेका छन्।' यस्तै सिद्ध-५ कास्कीको दर्शन आमा समूहले गाउँमा जुवातास खेल्न प्रतिबन्ध लगाएको छ। २०५८ सालमा स्थापना भएको समूहले पहिला-पहिला मन्दिर, बाटोघाटो, पाटिपौवा बनाउने र गाउँमा अप्ठ्यारा परेका महिलालाई सघाउने गर्थ्यो।

गाउँमा जुवातास खेल्ने, जाँड रक्सी खाएर होहल्ला गर्ने विकृति बढेपछि आमाहरु कस्सिएर यसलाई निषेध गर्न लागेका हुन्। त्यसैले जुवातास बन्द छ। यहि आमा समूहले नै केही समय अघि गाउँमा बिजुली ल्यायो। कुटानी पिसानीको समस्या भईरहेका बेला ‘दर्शन लाईफ मिल' संचालनमा ल्याएको समूहकी सचिव जमुना ठकुरीले बताईन्।

‘विकासका काममा हामी सक्रिय भएर लाग्छौं' उनले भनिन् ‘यसले हाम्रो गाउँ सुधारमा सहयोग पुगेको छ।'
हरेक काममा अग्रणी कहलिएको छ पोखराको जगदम्बा आमा समूह। कहिले सेती नहरको सफाई त कहिले फेवाताल। कहिले गाँजा फडानी त कहिले लेकसाइडमा विकृति भयो भन्दै नियन्त्रणको प्रयास। लागु पदार्थ रोकथाम, ध्वनी प्रदुषण र जाडरक्सी रोकथाममा पनि समूहले ख्याती कमाएको छ। ‘हामी जे सक्छौ त्यहि गछौं' समूहकी अध्यक्ष दुर्गा पहारी भन्छिन्'कहिले बहुविवाहबाट पिडीतलाई सहयोग गर्छौ कहिल्यै पर्यटन प्रबर्द्धनका काम गर्छौ।'

भुजुङ, लमजुङको आमा समुह पनि विकासमा सक्रिय छ। ‘आमा समूह विना कुनै काम गर्न मुस्किल पर्छ' समूहकी सदस्य आशकुमारी गुरुङ भन्छिन् ‘आमाहरुको भूमिका बढिरहेको छ।' अचेल पश्चिमाञ्चलमा हुने हरेक काममा आमा समूह सक्रिय हुन्छन्। पोखरा उपमहानगरपालिकाभित्र दुई सय ६० यस्ता समूह दर्ता छन्। दर्ता नभएका थुप्रै छन्। यस्तै लेखनाथ नगरपालिकामा दर्ता भएका एक सय २५ समूह छन् भने दर्ता नभएका ८० भन्दा बढी।

हाम्रो जिम्मेवारी डिलकुमारी गुरुङ अध्यक्ष - गैरी गाउँ आमा समूह आफ्नो गाउँको मुहार फेर्न आफैं अघि सर्नु पर्छ भनेर हामीले समूह मार्फत सक्रियता देखाएका हौं। हामी विकास निर्माण र आय आर्जनका काममा लागेका छौं। सामाजिक काम गर्दा हामीलाई सन्तोष मिलेको छ। GN:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com