मुटुको रोग बाट पीडित महिलालाई पारिवारिक जिवान कष्टकर I

बाजुरा, वैशाख १७,

शल्यक्रियाद्वारा भल्भ बदलेका दुर्गम भेगका मुटु रोगी महिलाको पारिवारिक जीवन कष्टकर र असहज भएको छ । ओपन हर्ट सर्जरी गरेर मुटुको भल्भ फेरेका महिलालाई बच्चा जन्माउन स्वास्थ्यका कारणले निकै कठिन हुने भएकाले सन्तान जन्माउन नसकेका कारण उनीहरूको पारिवारिक जीवन असहज हुन थालेको हो ।

भल्भ फेरेर नयाँ जीवन पाएका सुदूरपश्चिमका विभिन्न जिल्लाका मुटु रोगी हरेक महिनाको १० गते कैलालीको अत्तरियामा सहिद गंगालाल हृदय रोग केन्द्रद्वारा सञ्चालित स्वास्थ्य शिविरमा पुग्ने गर्छन् । उनीहरू रगत बाक्लो वा पातलो कस्तो छ भनी परीक्षणका लागि शिविर पुग्ने गरेका हुन् । यसरी परीक्षण गर्नेमा अधिकांश महिला रोगी रहेका छन् ।

सात वर्षअघि गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गरेर भल्भ फेरेपछि नयाँ जीवन पाएकी एक महिलाले बच्चा नजन्माएकै कारण घर परिवारमा निकै पीडा बेहोर्नुपरेको बताइन् । श्रीमान्बाट राम्रै व्यवहार भए पनि सन्तान जन्माउन नसकेका कारण सासूले बुहारीका रूपमा स्वीकार नगरेको उनले पीडा सुनाइन् । आफू गर्भवती हुँदा ज्यानै जोखिममा पर्ने उनलाई चिन्ता छ । 'द्विविधामा छु, बच्चा पाउने प्रयास गरौं भने ज्यानको जोखिम, यता त्यही कारणले पारिवारिक अपहेलना सहनुपरेको छ,' उनले भनिन् ।

मुटु स्वास्थ्य परीक्षणका लागि शिविर आउने उनीजस्तै अन्य विवाहित र अविवाहित महिला अत्तरिया आएका बेला आफ्नो पारिवारिक जीवनका बारेमा अनेकौं सुखदुःख साट्छन् । विवाहै नगरेका महिला पनि आफ्नो भविष्यबारे थप चिन्तित देखिन्छन् ।

मुटुका भल्भ फेरेका महिलाले अरू महिलासरह सामान्य अवस्थाले बच्चा जन्माउन नसक्ने चिकित्सकहरू बताउँछन् । 'भल्भ फेरेका बिरामीलाई रक्तस्रावको सम्भावना सामान्य व्यक्तिभन्दा चार गुणा बढी हुन्छ,' गंगालालका शल्य चिकित्सक डा. रामेशराज कोइरालाले भने, 'प्रसूतिका बेला ज्यान जोखिममा पर्ने निकै बढी सम्भावना हुने भएकाले गर्भवती हुन नहुने कुरा हरेक महिला बिरामीलाई अप्रेसनअघि हामी जानकारी दिने गछौर्ं ।' पछिल्लो समय गंगालाल अस्पतालले मुटुको भल्भ फेरेका महिलालाई एक पटकलाई प्रसूतिमा सहयोग गर्ने गरेको डा. कोइरालाले बताए । विवाह नगरेका वा विवाह गरेर पनि बच्चा जन्मनुअघि भल्भ फेर्नुपरेका महिलालाई यस्तो सहयोग गरिँदै आएको उनले बताए । सामान्यतः शल्य चिकित्सकले अप्रेसन गर्नुअघि नै महिलाहरूलाई गर्भवती हुन नमिल्ने सल्लाह दिने गर्छन् ।

डा. कोइरालाको पहलमा मुटुको भल्भ फेरेका सुदूरपश्चिम क्षेत्रका बिरामीलाई लक्षित गरी अत्तरियामा हरेक महिनाको १० गते न्यूनतम शुल्कमा रक्त परीक्षण शिविर सञ्चालन हुँदै आएको छ । रगत बाक्लो वा पातलो हुनबाट जोगाउन भल्भ फेरेका बिरामीहरूले नियमित रक्त परीक्ष्ाण गर्नु अनिवार्य हुने चिकित्सक बताउँछन् । 'रगत पातलो वा बाक्लो हुन नदिएर नियमित औषधि सेवनबाट रगत सन्तुलित राख्नका लागि जाँच गराइरहनुपर्ने हुन्छ,' डा. कोइरालाले भने ।

मुटुका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको परीक्षणमा संलग्न प्रयोगशाला प्राविधिक बताउँछन् । प्राविधिक सुरेश शर्माका अनुसार गत फागुनको शिविरमा आफ्नो नियमित परीक्षणका लागि ४ जना मात्र बिरामी आएका भए पनि हाल यो संख्या बढेर ३७ पुगेको छ । 'परीक्षणका लागि आउनेमध्ये आधा बढी महिलाको संख्या छ,' शर्माले भने । अत्तरियाजस्तै राजधानी बाहिरका १४ स्थानमा सञ्चालन हुने शिविरमा गरी सयौंको संख्यामा भल्भ फेरेका महिला परीक्षणका लागि आउने गरेको उनले बताए ।

गंगालाल हृदय केन्द्रमा हालसम्म डा. रामेश कोइराला नेतृत्वको युनिटले मात्रै एक हजार बढी मुटुका बिरामीको शल्यक्रिया गरी भल्भ फेरेको छ । 'सुदूरपश्चिम क्षेत्रका कति बिरामीको भल्भ फेरिएको छ भन्ने तथ्यांक नराखेको भए पनि मैले शल्यक्रिया गरेका एक हजार बढी बिरामीमध्ये त्यस क्षेत्रका बिरामीको संख्यासमेत उल्लेख्य हुनुपर्छ,' डा. कोइरालाले भने । स्वास्थ्यकर्मीहरू का अनुसार प्रायः गरी बाथ ज्वरोका कारण मुटुको भल्भमा क्षति पुग्ने गर्छ । अर्जुन शाह:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com