रक्सी पिउने पुरुषका श्रीमती शारीरिक र मानसिक बढी हिंसामा I

काठमाडौ, चैत्र १८,

रक्सी पिउने पुरुषका श्रीमती शारीरिक र यौनजन्य हिंसाको शिकार हुने गरेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले गरेको लैंगिक हिंसाको सर्वेक्षणले रक्सी पिउने पुरुषका श्रीमतीमध्ये ७० प्रतिशत शारीरिक र यौनजन्य हिंसाको शिकार भएको देखाएको छ ।

जसमा रक्सी नपिउने पुरुषका श्रीमती २० प्रतिशत मात्र शारीरिक र यौनजन्य हिंसाबाट पीडित हुने गरेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेे प्रत्येक तीन/तीन वर्षमा गर्दै आएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अन्तर्गत पहिलो पटक लैंगिक हिंसाको सर्वेक्षण गरिएको हो । जसअन्तर्गत १५ देखि ४९ वर्षका १२ हजार छ सय ७४ महिला र चार हजार एक सय २१ पुरुषसँग अन्तर्वार्ता गरिएको थियो ।

राष्ट्रियस्तरको प्रतिनिधत्व हुने गरी पाँचै विकास क्षेत्रका हिमाल, पहाड र तराईलाई समेटेर सर्वेक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सर्वेक्षणमा शारीरिक वा यौनजन्य हिंसा खेपिरहेका ६० प्रतिशत महिलाले हिंसाबारे कसैलाई नबताउने गरेको पाइएको छ । २३ प्रतिशत महिलाले कुनै न कुनै स्रोतबाट सहयोग मागेको प्रतिवेदनमा उल्लेख छ ।

रक्सी पिउने पुरुषका श्रीमती मात्र होइन आम महिलामध्ये २२ प्रतिशत महिला १५ वर्ष पुगेेपछि कुनै न कनै समयमा शारीरिक हिंसाको शिकार भएको पाइएको छ । गएको १२ महिनामा ९ प्रतिशत महिलाले हिंस्रक व्यवहार व्यहोर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

विवाह नगरेका ६ प्रतिशत, पारपाचुके गरेका, श्रीमान्सँग छुट्टएिर बसेका वा विधवा २८ प्रतिशत महिला हिंसामा परिरहेको प्रतिवेदनले देखाएको छ ।

सर्वेक्षणका क्रममा शारीरिक हिंसाको शिकार भएका अधिकांशले आफ्नै श्रीमान्बाट पीडित भएको बताएका छन् । 'विवाहित महिलामध्ये ३२ प्रतिशतले श्रीमान्ले कुनै न कुनै समयमा शारीरिक, भावनात्मक र यौनजन्य हिंसा गर्ने गरेको अन्तर्वार्ताका क्रममा बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका जनसंख्या महाशाखा प्रमुख पदमराज भट्टका अनुसार यो नेपालमै पहिलो पटक सरकारीस्तरबाट गरिएको लैंगिक हिंसाको सर्वेक्षण हो । यसले नेपाली महिलाले भोगिरहेका हिंसाको अवस्थाको अध्ययन गरेको छ । 'दुई वर्ष लगाएर गरिएको स्थलगत अध्ययनले अधिकांश महिलाले परिवारबाटै कुनै न कुनै किसिमका हिंसा भोगिरहेको पाइएको छ' उनले भने, 'प्रतिवेदनले पीडित महिलाले आफ्नोबारे बताउन नचाहेको पनि देखिएको छ ।' उनका अनुसार कतिपय हिंसा खेपिरहेका महिलाले आफू हिंसामा परेको वा नपरेको छुट्ट्याउन नसक्ने अवस्था रहेछ । अशिक्षा, चेतना र प्रचारप्रचारको कमीले महिलामाथिको हिंसा बढिरहेको छ ।

सर्वेक्षणमा खटिएकी स्वास्थ्य मन्त्रालयकी शाखा अधिकृत लीला केसीका अनुसार तराईका महिलाले अन्यको तुलनामा दाम्पत्य हिंसा खेप्नुपरेको छ । 'तराईका अधिकांश्ा महिला श्रीमान्बाटै पीडित रहेछन्,' उनले भनिन् ।

'दाम्पत्य हिंसा तुलनात्मक रूपमा तराईमा बढी देखिएको छ । तराईमा विवाहित महिलामध्ये ३५ प्रतिशत महिला आफ्ना श्रीमान्बाट शारीरिक वा यौन हिंसाको शिकार हुनुपरेको छ,' प्रतिवेदनमा उल्लेख छ ।

इ-कान्तिपुर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com